Total Pageviews

THE HIMALAYAN DISASTER: TRANSNATIONAL DISASTER MANAGEMENT MECHANISM A MUST

We talked with Palash Biswas, an editor for Indian Express in Kolkata today also. He urged that there must a transnational disaster management mechanism to avert such scale disaster in the Himalayas. http://youtu.be/7IzWUpRECJM

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

THE HIMALAYAN TALK: PALASH BISWAS TALKS AGAINST CASTEIST HEGEMONY IN SOUTH ASIA

Twitter

Follow palashbiswaskl on Twitter

Sunday, April 12, 2015

बिनाब्यानरको नागरिक र वाग्मती अभियान

बिनाब्यानरको नागरिक र वाग्मती अभियान

चैत्र २८ - 
वाग्मती सफाइ अभियानको १०० औं हप्तामा म पनि आफ्नो इलाकामा सामेल भएँ। अभियानमा यो मेरो पहिलो सहभागिता थियो। यसअघि पनि नेपाल टेलिकमबाट प्रत्येक साता शुक्रबार यो अभियानमा सहभागी हुनका लागि मोबाइलमा सन्देश आइरहन्थे। तर यसपटक भने यसले मलाई पनि तान्यो। बिहान ७ बजे सुन्दरीघाट पुग्दा वारि अर्थात् कीर्तिपुरको किनारमा मानिसहरूको उपस्थिति निकै कम थियो। पारि भने उपस्थिति पनि राम्रो थियो, हातेसाङ्लोमा उभिनका लागि ठाउँ पनि मिलेको। ७ देखि ८ बजे एक घण्टाको समय मैले सुन्दरीघाटदेखि बल्खुसम्मको वाग्मती किनारमा बिताएँ। मानिसहरूको उपस्थिति उल्लेख्य थियो। सायद यो शृङ्खला सुन्दरीजलदेखि चोभारसम्म नै थियो होला। मानिसहरू आआफ्ना संस्थाका ब्यानर, क्यापसहित आएका थिए। सेना, सशस्त्रका सुरक्षाकर्मीहरू आफ्नो बर्दीमा बाक्लो उपस्थिति थियो। विद्यालयका केही विद्यार्थी र शिक्षकहरू पनि आआफ्ना पोसाकमा थिए। कुनै निर्दिष्ट ठाउँमा सरकारी कर्मचारीहरू पनि मनग्गै थिए होलान्। तर म भने बिनाउर्दी र बर्दीको एउटा नागरिक एक्लै गएको थिएँ। 

सहभागीहरूका लागि विभिन्न संस्थाका माध्यमबाट मास्क, पन्जाहरू बाँडिएका थिए। मैले पनि त्यो सौजन्य प्राप्त गरेँ। मलाई किनारैकिनार अगाडि बढ्न सहज भयो। करिब ७ः१५ तिर एउटा संस्थाको आयोजनमा ल्याबोरेटरी स्कुलको अगाडिको खण्डमा राष्ट्रिय गानसँगै कार्यक्रम प्रारम्भ भएको उद्घोष भयो। म पनि साङ्लोमा बाँधिएँ, वाग्मती फोहोर गर्न दिन्नँ भनेर। बल्खुमा पुग्दा तयारी क्रम नै थियो। त्यहाँ पनि हातेसाङ्लोमा बाँधिएँ। वाचा त गरें, तर मलाई थाहा छैन, मेरो घरबाट निस्कने मलमूत्रको ढल अहिले कहाँ खस्छ भनेर। ढलको काम बाँकी नै छ। वाग्मती सफाइको एउटा बृहत् आयोजना नै चलिरहेछ। अहिलेको अभियानले १०० हप्ता पुर्‍याएको छ। 

यो अभियानको पछिल्लो कडीमा नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको नाम महत्त्वका साथ आउँछ। जसका श्रेयी पनि छन् उनी। विगतमा वाग्मती सभ्यतामा जन्मिएका हुर्किएका कोही मुख्य सचिव भए भएनन् मलाई थाहा छैन। तर सुन्दरीजलदेखि सुन्दरीघाटसम्म सरकारको सचिव भएकाहरूको संख्या भने कम छैन। वाग्मतीकै पानी खाएका मजस्ता प्राध्यापकहरू पनि धेरै छन् यो करिडरमा। एकताका 'वाग्मती बा' भनेर चिनिएका हुतराम वैद्यको नाम यो अभियानमा निकै चर्चित थियो। सुन्दरीघाटदेखि बल्खुसम्मको त्यो अभियान यात्रामा उनको नाम कसैले सम्झेजस्तो लाग्दैन। मलाई लाग्यो वाग्मती सफाइ र संरक्षण सरकारी ओहदा र निर्देशनमा मात्रै सम्भव रहेछ। तर सभ्यता यसरी बन्दैन।

पञ्चायतकालमा पनि एकपटक ढल वाग्मतीमा नमिसाउने भनेर अहिले जस्तै ठूलठूला ह्युम पाइप हालिएका थिए। टेकुदेखि बल्खुसम्म त म आफैंले देखेको थिएँ। सुन्दरीघाटपारि टि्रटमेन्ट प्लान्टका लागि जग्गा पनि लिइएको थियो। काम नभएपछि त्यो स्थलमा ठूलठूला तलाउ बनेको म कीर्तिपुरबाट सहजै देख्थें। किन त्यो योजना बन्द भयो थाहा भएन। केही वर्षअघि मात्र बाबुराम भट्टराईको सरकारले थापाथलीबाट सुकम्बासी बस्ती हटाएर त्यहाँ राख्ने प्रयास पनि गरेको थियो। स्थानीयवासीको विरोधले त्यो काम रोकियो। हुन पनि एउटा कामको लागि भनेर जमिन अधिकरण गर्ने र पछि अर्कै प्रयोजनका लागि त्यसको उपयोग गर्ने कुरा न्यायसंगत होइन। अन्यथा त्रिभुवन विश्वविद्यालयको खाली जग्गामा घडेरी प्लटिङ गरे पनि त भइहाल्यो नि। 

१०० औं हप्ताको यो अभियान बहुप्रचारित पनि थियो। मातहतका कर्मचारी, शिक्षक, विद्यार्थी, गैससका लागि निकै जोडतोडको उर्दी निर्देशन पनि रहेछ। अघिल्लो दिन सुन्दै थिएँ, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतका पदाधिकारीहरूले आफ्ना मातहतकालाई निर्देशन दिएका समाचारहरू। बिहानैदेखि गाडीवाला सरकारी कर्मचारीका घरघरमा गाडी स्ट्यान्डवाइ देखिन्थे वाग्मती अभियानमा कर्मचारी सहभागिता जुटाउन। म भने फटाफट हिँ्डदै थिएँ, बिहानको वाकिङ पनि सँगै हुने भयो भनेर। हातेमालोमा जुटेका एक शिक्षक मित्रले सुनाए विद्यार्थीसहित अनिवार्य उपस्थिति हुनुपर्छ भनिएको थियो भनेर। अर्का एकजना मित्र आफ्नो बसाइ छेउमै वाग्मती भए पनि, अफिसले निर्दिष्ट गरेको ठाउँमै पुग्नुपर्ने रहेछ। उनी उतै लागेछन्। अभियानपछि उनीकहाँ पसेर चिया खाने मेरो इच्छा त्यसै रह्यो। 

२०६२/६३ को आन्दोलनपछि निर्देशन शब्द निकै जोडले हाम्रा सार्वजनिक महत्त्वका पद र प्रतिष्ठानहरूले प्रचलनमा ल्याउन थालेका छन्। मानौं 'निर्देशन' लोकतन्त्रको उन्नत पर्याय शब्द हो। सन् '६० को दशकमा नेपालका महेन्द्र, युगोस्लोभियाका टिटो, इन्डोनेसियाका सुकार्नो, इजिप्टका नासेरहरूले आफ्ना देशमा लोकतन्त्रलाई नास्दै वा सीमित गर्दै 'निर्देशित प्रणाली' चलाएका थिए। मलाई उदेक लाग्छ, गणतन्त्र घोषणा भइसकेर संविधानको अंग बनिसकेको अवस्थामा पनि हाम्रो सार्वजनिक अभिव्यक्तिमा 'अधिराज्य' र शासकीय संस्कारमा 'निर्देशन' जस्ता शब्दहरूले किन बाहुल्य पाउँछन्, परिवर्तनले सार्थकता पाउन यसका राजनीतिक व्यवस्थापकहरूको मानसिकतामा नै परिवर्तनको मूल्य र मान्यताले प्रवेश पाउनु जरुरी छ। अन्यथा परिवर्तन एउटा राजनीतिक ढोंगमा सीमित हुन्छ। अहिले नेपालको हालत यस्तै छ।

सुन्दरीघाट मेरा लागि महत्त्वको छ। पहिलो त, त्यो मेरा पूर्वजहरूकोे सद्गत अर्थात् शवदाह गरिएको ठाउँ हो। मेरा बा, हजुरबा, हजुरआमासम्मको त्यहीं नै दाहसंस्कार गरिएको थियो। कैयौंपटक म आफैं मलामी भएर गएको छु। हेर्दाहेर्दै त्यो ठाउँ दाहसंस्कारका लागि योग्य रहेन। अहिले सुन्दरीघाटको श्मसानबाट धुवाँ उठेको देखिन्न। दाहसंस्कारका लागि मानिसहरूले अन्यत्र शव लान थालेका छन्।

अर्को कुरा, म स्कुल जान थालेदेखि त्यो ठाउँले मसँग बेग्लै परिचय बनाएको छ। म पाँगाको तत्कालीन जालविनायक मिडिल स्कुलमा पढ्थें। शिक्षकहरू सहरबाट साइकल चढेर आउँथे। सुन्दरीघाटमा हामी उनीहरूलाई पर्खिबस्थ्यौं। त्यहींबाट उकालो सुरु हुन्थ्यो, हामी केही विद्यार्थीहरू साइकल समाउन जान्थ्यौं। उकालोभर स्याँस्याँ र फाँफाँ गर्दै साइकल माथिको सम्म भागमा पुर्‍याउँथ्यौं। सरहरूलाई पनि राहत, त्यसैबेला हामी पनि साइकल चढ्ने रहर मेटाउँथ्यौं। सुन्दरीघाट र चोभार गणेशस्थानमा दह परेका ठाउँहरू थिए। हामी त्यहाँ नुहाउने, धुने गथ्र्यौं, पौडी खेल्थ्यौं। त्यसबेला वाग्मतीको पानी खानु सामान्य थियो। यी विभिन्न अवस्थामा म एउटा व्यक्ति मात्र भएर पनि वाग्मतीसँग जोडिएको छु। त्यसैले पनि होला, कुनै संघसंस्था, पद र कार्यालयसँग आबद्ध नभएर पनि म दौडिएको थिएँ, नजिकको वाग्मती किनारमा।

काठमाडौं उपत्यकाको चिनारी वाग्मती सभ्यता हो। यहाँका मानिसहरूको जीवन वाग्मतीसँग जोडिएको थियो। उपत्यकाभित्रको समाज, संस्कृति, अर्थ र राजनीतिक व्यवस्था पनि वाग्मतीको सन्दर्भबिना पूरा हुँदैन। वाग्मतीका सहायक नदीनाला भएका ठाउँहरू चाँगु, भक्तपुर, थिमी, थानकोट, टोखामा ससाना मध्यकालीन बस्ती र सभ्यता अझै देख्न सकिन्छ। नदी र उब्जाउ भूमि एसियाली सभ्यताकै आधार हुन्। यसैमा त मध्यकालीन नेपालको बेजोड संस्कृति र कलाकृति देख्न पाइन्छ। पहाड होस् वा तराई नदीकिनारको सानो फाँटमा पनि मानव सभ्यताको एउटा रूप जताततै देख्न सकिन्छ। नदी नभए पनि तलाउहरू भरेर सभ्यताको विकास गरेको उदाहरण तराईको मिथिला क्षेत्रमा पाइन्छ।

जल, जमिन, जंगलको एउटा विशेषता छ, एउटा हदसम्म प्राणीजन्य फोहोरलाई निर्मलीकरण गर्ने। सोझै पानीमा फोहोर -दिसापिसाब) गर्नु हुन्न, पाप लाग्छ भनेर हजुरआमाले भनेको अझै मैले बिर्सेको छैन। त्यसैले पहिलेका मानिसहरू सोझै नदीनालामा फोहोर गर्दैनथे। नदी किनारको कुरा बेग्लै हो। पानीलाई प्रत्यक्ष रूपमा दूषित गरिंदैनथ्यो। यो ठूलो मान्यता बनेको थियो अघिल्लो पुस्ताका मानिसमा। जमिन र जंगलमा उत्सर्जित गरिने फोहोर प्राकृतिक रूपमा निर्मलीकरण हुन्थ्यो, त्यही कारण नदीनाला प्रदूषित हुँदैनथेे। 

विविध समयका राजनीतिक परिवर्तन, जनसंख्या चाप र अव्यवस्थित बसोबासका कारण बिस्तारै उपत्यकावासीको जीवन वाग्मतीबाट टाढिँदै गयो। यो वास्तवमा स्वार्थीसत्तासँग जोडिएको कथित विकासको परिणाम हो। अहिलेको अनुत्तरदायी र अविवेकी बजारीकरणले वाग्मती मात्र होइन, हाम्रा सबै नदीनालाहरू ढलमा परिणत भएका छन्। बस्तीको कम चाप र पानीको परिमाणले कोसी, कणर्ालीजस्ता नदीहरू सफा त देखिएका छन् तर ती पनि कम प्रदूषित छैनन्।

०२७/०२८ सालतिर कलेज पढ्न थालेपछि पत्रपत्रिका पनि पढ्ने बानी बस्यो। त्यतिखेरै कुनै एउटा साप्ताहिकमा गुह्येश्वरीतिर घर बनाएका कुनै ठूला पञ्च नेताको शौचालयबाट निस्कने फोहोर सोझै वाग्मतीमा खसालिन्छ भनेर लेखिएको थियो। हेर्दाहेर्दै उपत्यकावासी सबैका दिसापिसाबको नदी बन्यो वाग्मती। अब त वाग्मती मात्र होइन सिंगो उपत्यका नै फोहोरको डंगुर बनिरहेछ। यसमा उपत्यकाका बासिन्दाभन्दा पनि राज्यका नीतिनिर्माता र सहर व्यवस्थापकहरू दोषी छन्। हाइवेका दायाँबायाँ पनि उत्तिकै फोहोर बढिरहेछ। सहरीकरण बढ्दो छ, राज्यको कुनै योजना छैन, केवल नगरपालिका घोषणा गर्नेभन्दा बढी।

अबको पचास वर्षमा कति नेपाली सहरवासी हुने छन् वा बनाइन्छन्। राज्यको कुनै प्रक्षेपण देखिन्न। सहर बढ्नु भनेको फोहोर बढ्नु पनि हो। नदीनालामा चाप बढ्नु हो। के छ यसको व्यवस्थापन तयारी राज्यका नीतिनिर्माताहरूसँग? सन् १९९५ मा म श्रीलंकाको क्यान्डी गएको थिएँ। श्रीलंककाको त्यो एउटा सुन्दर सहर हो। एकजना भारतीय र अर्का बंगलादेशी प्राध्यापक पनि थिए मसँग। साँझमा हामी त्यहाँको एउटा पार्कमा टहलिँदै थियौं। एक जना मानिस कहिले बत्तीको चिम पुछ्दै थिए त कहिले छरिएका फोहोरलाई एक ठाउँमा मिलाउँदै थिए। नयाँ मानिस देखेर उनी हाम्रा नजिक आए। म नेपालबाट आएको भनेपछि काठमाडांैका तत्कालीन मेयर पियल सिंहलाई चिन्छौ भनेर सोधे। पियल सिंहसँग मेरो राम्रै चिनजान थियो त्यसबेलासम्म। नगरपालिका नेतृत्वको सन्दर्भ आउँदा मेरा अगाडि पियल होइन, क्यान्डीका तिनै मेयरको अनुहार झलझल्ती आउँछ उनको नाम बिर्सिए पनि।

मैले यहाँ 'बिनाब्यानरको नागरिक' शब्दावली चयन गरेको छु। यो सोचविचार गरेरै गरेको हो। हुतराम वैद्य बिनाब्यानरका नागरिक थिए। तर उनलाई वाग्मती अभियन्ताहरूले एउटा ब्यानर नै बनाएका थिए। उनी आज हाम्राबीच छैनन् नत्र एक्लै भए पनि आउँथे वाग्मती किनारको यो हातेसाङ्लोमा उनिन। जबसम्म बिनाब्यानर, बिनाउर्दी र बिनाबर्दी वाग्मती चेतना नागरिकमा आउँदैन, यो सफा हुँदैन, वाग्मती सभ्यता पनि जोगिँदैन। आजको प्रशासनको विस्तार र सहरीकरण वाग्मती विनाशको मूल कारण हो। राज्य संयन्त्रको भरमा गरिने अभियानहरू प्रचारमुखी र शोभाका लागि बढी हुन्छन्। 

No comments:

Related Posts Plugin for WordPress, Blogger...

PalahBiswas On Unique Identity No1.mpg

Tweeter

Blog Archive

Welcome Friends

Election 2008

MoneyControl Watch List

Google Finance Market Summary

Einstein Quote of the Day

Phone Arena

Computor

News Reel

Cricket

CNN

Google News

Al Jazeera

BBC

France 24

Market News

NASA

National Geographic

Wild Life

NBC

Sky TV